१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली र नेता नेपालबीच वार्ताको तयारी


केपी ओली र माधव नेपाल

काठमाडौं । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर कानुनी रुपमै विभाजनउन्मुख भएको सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालवीच पुन: वार्ताको तयारी भएको छ ।

पार्टीभित्रको आन्तरिक विवादलाई निराकरण गर्नको लागि प्रधानमन्त्री ओली र नेता नेपालबीच अन्तिम निर्णायक वार्ता हुन लागेको हो । दुई शीर्ष नेताहरुलाई वार्ता गराउन एमालेका नेताहरू सक्रिय भएका छन् ।

ओली र नेपालबीच आजै शुक्रबार वार्ता गराउने गरी तीब्र गृहकार्य भइरहेको एमालेका एक नेताले बताए । सकेसम्म आजै दुवै नेताबीच पार्टी केन्द्रीय कार्यालय थापाथलीमै वार्ता गराउने तयारी भईरहेको बुझिएको छ । यदि नेपालले पार्टी कार्यालय जान अस्वीकार गरेमा काठमाडौँको नक्सालस्थित अहिले चर्चाको शिखरमा रहेको होटल म्यारियटमा नै वार्ता हुने सम्भावना रहेको ती नेताले बताए ।

आज शुक्रबार प्रधानमन्त्रीको दूत बनेर ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेपाललाई भेटेर छलफल गरेका थिए । दुगडले लगभग कुरा मिलिसकेको संकेत गरेका छन् । नेपाललाई भेटेपछि दुगड र नेपालनिकट एमाले नेता सोमप्रसाद पाण्डेले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका छन् ।

एमालेको विभाजन रोक्न सक्रिय देखिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर हिजो विहीवार मध्यरातिसम्म प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालवीच छलफल भएको बुझिएको छ ।

निर्णायक भनिएको छलफल हिजो राति १२ बजेसम्म चलेको थियो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले कुरा गरिरहेकै बेला प्रधानमन्त्री ओली पनि शीतल निवास पुगेको एमाले स्रोतले बताएको छ ।

राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुवै नेताबीच ‘भद्र सहमति’ भएको बताइए तापनि के विषयमा सहमति भयो भन्ने अहिलेसम्म खुलासा भएको छैन । नेता नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतले जनाएको छ ।

होटल म्यारियटमा नेकपा एमालेका दुई समानान्तर ओली र नेपाल समूहका नेताहरुवीच हिजो छलफल भएको छ । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको थियो ।

ओली र नेपाल समुहका नेताबीच पार्टी विवाद समाधानबारे छलफल भएको थियो । आज होटेल म्यारियटमा एमाले नेता समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका थिए ।

छलफलमा पाण्डे र विष्टले फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए तर कुनै त्यस्तो उपलव्धिमूलक सहमति हुन सकेन । यद्यपि यी ३ जना एमालेका नेतारुवीच पार्टी एकताको लागि मिलनबिन्दु खोज्नुपर्नेमा सहमति भने जुटेको छ ।

व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेर पार्टी विनाशको बाटोतिर लागिरहेको बेला कुनै चमत्कारिक शक्तिले गर्दा फेरि सद्बुद्धि आएको त होइन भन्ने जस्ता विश्लेषण हुन थालेको छ । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको छ ।

यो पनि पढ्नुहोस्

शीतल निवासमा राष्ट्रपतिलाई साक्षी राखेर ओली र नेपालबीच सहमतिको संकेत

ओली र नेपाल समूहका नेतावीच म्यारियटमा छलफल, होला कारवाही फिर्ता ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !