काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउन एमाले नेताहरूसहित बुढानिलकण्ठ पुगेका छन् । प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पहिलो पटक पुगेका हुन् ।
उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवा निवास पुगेका हुन् ।
देउवाको सचिवालयले दिएको जानकारी अनुसार अहिले प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता जारी रहेको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग गहन छलफल गरिरहेको छ । यसैबीच कांग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले ओलीलाई बहुमत जुटाउनबाट रोक्न अन्य दलसँग पहल गर्ने निर्णय गरेको थियो ।
हिजो मंगलबार साँझ देउवा, प्रचण्ड, माधव कुमार नेपाल, उपेन्द्र यादवबीच छलफल भएको थियो । विश्वासको मत लिने निर्णयमा पुगेका ओली यी ४ नेताको छलफलबाट त्रसित भएका छन् ।
राष्ट्रियसभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाएर चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओली देउवाको शरणमा पुगेका हुन् । जेठ ६ गते हुन लागेको वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलविरूद्ध खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तयारी विपक्षी दलहरूको तयारी छ । बादललाई नै राष्ट्रिय सभामा उम्मेदवार बनाउने एमालेको तयारी छ ।