९ असार २०८१, आइतबार

माधव नेपाल भन्छन्, ‘केपी ओलीले धरहरातिर हेर्दै दम्भ देखाए’


माधव नेपाल फाइल फोटो

जनकपुरधाम । नेकपा एमालेका निलम्बित नेता माधव नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले धरहरातिर हेर्दै दम्भ देखाएको आरोप लगाएका छन् ।

धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताउदै आफूलाई कसैले कारवाही गर्न नसक्ने जिकिर गरेका छन् ।

उनले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा चढ्नुभएको कारण एकता क्षीण हुँदै गएको स्पष्ट गरे । आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने बताए ।

पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने उल्लेख गरे । आफूहरुसँग बहुमत भएको तर अध्यक्ष ओलीलाई कारबाही भने नगर्ने उनको भनाइ थियो ।

पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष भएको आरोप लगाए । उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकामो पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ भने ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा (एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भने ।

उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे ।

‘केपी शर्मा ओलीको दम्भ भर्‍याङ उक्लेर धरहराभन्दा माथि बसेको छ’, नेता नेपालले भने, ‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो ।’ ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्‍याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !