१ मंसिर २०८१, शनिबार

म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ : शान्ता चौधरी


शान्ता चौधरी

नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेत्री शान्ता चौधरीले जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको बताएकी छन्। चौधरीले बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गरेको बताएकी छन्।

तर आज पनि आफूले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थालेको चौधरीले बताएकी छन्। त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्ने बताएकी छन् ।

कमरेड माधव नेपालको अपमान कहिले गरें ? भन्दै चौधरीले प्रश्न गरेकी छन्। आफूलाई संविधान सभाको सदस्य बनाउन माधव नेपालले गरेको योगदानको तिरस्कार कहिले गरें ? भन्दै प्रश्न गरेकी छन्।

उनले लेखेकी छन्, “हो कमरेड ! म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल , मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ । त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।
कमरेडहरु ,
मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक बताई दिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें ? भनिदिनुहोस न कमरेड ! मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ? मैले धेरै जानेको छु , मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ , घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड , आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन । मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म । नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो , म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएन त्यसमा दु:ख लाग्छ मलाई । आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन , एउटा श्रद्धा गरेको मेरो नेतालाई , आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु , बोलेर भन्छु , चिच्याएर भन्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !