२ कार्तिक २०८१, शुक्रबार

शहरी क्षेत्रमा विद्यालय एक महिना बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै १ महिना विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

अस्ति शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसी बैठकको सर्त थियो ।

बैठकबाट स्वास्थ्य सम्बन्धी नयाँ मापदण्ड जारी हुने पनि बुझिएको छ । पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने चौतर्फी रुपमा आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।

निर्णय अनुसार र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि संचालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी-२० क्रिकेट सिरिज भने दर्शकविना संचालन हुने उल्लेख छ ।

आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो । जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने भएका हुन् । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने संचालन हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !