७ मंसिर २०८१, शुक्रबार

नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनमा जाने भएको हो ।

सर्वोच्चले नेकपा खारेज गर्नु राजनीतिक प्रकृतिको फैसला रहेको निष्कर्षमा पुगेपछि माओवादी पुरावलोकनमा जाने भएको हो । आज उक्त पार्टीका कानुन व्यवसायीहरुले दिएको सुझावका आधारमा माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ ।

आज मंगलबार बिहान स्थायी समिति बैठक अगाडि माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतसँग सर्वोच्चको फैसला र पुनरावलोकनबारे छलफल गरेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको भएको र मागदाबी नै नगरिएको विषयमा फैसला आएकोले ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था भए अनुसार उनीहरुले सुझाव दिएका हुन् ।

कानुन व्यवसायीहरुले पनि नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको रहेकाले पुनरावलोकनमा जान सुझाव दिएका छन् । आजको स्थायी समिति बैठकले यसबारे थप निर्णय गर्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !