९ असार २०८१, आइतबार

एक्कासी रामचन्द्र पौडेल समूहले गर्यो यतिठुलो निर्णय


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएर पदाधिकारी बैठकमा सभापति देउवालाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गरेमा आफ्नो समूहले सहयोग गर्ने बताएको छ । यसअघि नेपाली काँग्रेस सरकारमा जानु हुदैन, प्रतिपक्षमा नै बस्नुपर्छ भन्ने धारणा राख्दै आएको पौडेल समूहले एक्कासी बोली परिवर्तन गरेको हो ।

एमाले र जसपा मिलेर नयाँ सत्ता समीकरण बनाउने अन्तिम चरणमा पुगेको बेला मुकदर्शक भएको काँग्रेस आफ्नो नेतृत्वको सरकार बनाउने रणनीतिमा अचानक तातेको हो । नयाँ सत्ता समीकरणमा ओली र ठाकुरको माया-प्रीति बढेर फूल फुल्नै लाग्दा त्यो फुल्न लागेको फूललाई फल लाग्न नदिने काँग्रेसको रणनीति कत्तिको सफल हुने हो त्यो भने हेर्न केहि समय प्रतिक्षा गर्नुपर्ने नै देखिन्छ ।

पुनःस्थापित संसदको चौथो दल जनता समाजवादी पार्टी (जसपा) सत्ता जोगाउन र नयाँ गठबन्धन निर्माणका लागि तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन जसपाको साथ खोजिरहेका छन् । यता प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्ता समर्थक नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकार निर्माणका लागि जसपाको साथ खोजिरहेको छ ।

संसदमा नेकपा (एमाले) को १२१ सिट छ । बहुमत १३८ पुर्‍याउन जसपा सहयोगी बन्न सक्छ । तर जसपाका नेताहरूले आफ्ना माग पूरा हुनुपर्ने बताइरहेका छन् । माओवादी केन्द्रले साथ छाडेमा प्रधानमन्त्रीलाई बहुमतका लागि १८ मत आवश्यक पर्छ । जसपाका ३४ जना सांसदमध्ये २ जना निलम्बनमा परेकोले अहिले ३२ जना सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !