२२ माघ, गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखकाली रबर उद्योगलाई आफ्नो ज्यान हुँदासम्म बेच्न नदिने बताएका छन् । बहिर्गमनका बेला वर्तमान सरकारले करोडौंको कमिशनको खेलमा दीर्घकालीन महत्व राख्ने खालको निर्णय गर्न नहुने उनले तर्क गरे ।शनिबार गृहजिल्ला गोरखाका पत्रकारसंगको कुराकानीमा भट्टराईले यस्तो बताएका हुन् ।
नेशनल ट्रेडिङ लिमिटेड खारेज गरेको वर्तमान सरकारले गोरखकाली रबर उद्योगलाई नीजिकरण गर्ने तयारी गरेको भन्दै उनले आपत्ति जनाए । ‘कौडीको मूल्यमा रबर उद्योग बेचिदैछ भन्ने खबर पाएँ’, भट्टराईले भने, ‘म यहाँबाट गएर भोलि नै यो बिषयमा कुरा राख्नेवाला छु । यस्तो निर्णय कुनै हालतमा हुनदिनेवाला छैन । म ज्यूँदो छउञ्जेल रबर उद्योग बेच्न दिन्नँ।’ कसरी राम्रोसंग चलाउने भन्ने बारे वृहत छलफल गर्न सकिने तर बेच्न नसकिने उनको दाबी छ ।
‘गोरखाको एउटा मात्र उद्योग हो, नेपालको पनि एउटै मात्र टायर उद्योग हो । यसलाई यही रुपले त सञ्चालन गर्नुहुदैन’, उनले भने ‘पुर्नसंरचना गरेर, निजी क्षेत्र र सरकारी क्षेत्र साझेदारी गरेर सञ्चालन गर्न सकिन्छ । विज्ञसँग छलफल गरेर के गर्न सकिन्छ भन्ने निचोड निकाल्नु पर्छ । तर कौडीको भाउमा बेच्न वा खारेज गर्न दिनै हुदैन ।’
‘अरबौं रुपियाँ भएको नेशनल ट्रेडिङलाई कौडीको मूल्यमा बेचिएको र डरलाग्दो कमिशनको खेल भएको आशंका छ’, भट्टराईले भने ‘संक्रमणकालको सरकारले दीर्घकालीन असर गर्ने निर्णय गर्नुहुदैन । यो बेठिक छ, यो निर्णय रोकिनु पर्छ ।’ भोलिको सरकारले राष्ट्रिय हितमा काम गर्नसक्ने भन्दै उनले नेशनल ट्रेडिङ देशका लागि चाहिने दाबी गरे । अन्नपुर्ण पोस्ट मा खबर छ ।