१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली किन अचानक राष्ट्रपतिलाई भेट्न गए शितल निवास ?

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । देशको वर्तमान राजनीतिक उतारचढाव भएको बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न आज मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका थिए । निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका थिए ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँगको भेटमा सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेकोले त्यसको जानकारी दिन शीतल निवास पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !