७ मंसिर २०८१, शुक्रबार

अंग्रेजले तराईसम्म खेदे पहाडमा हामीले उनीहरुको गेडी खुस्क्याइदियौ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले खुलेर प्रशंशा गरे पृथ्वीनारायण शाहको


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा अंगेज र नेपालवीच भएको लडाईमा अंग्रेजले नेपालीलाई तराईसम्म खेदेको तर पहाडमा पुगेपछि नेपालीले अंग्रेजको गेडी खुस्क्याइदिएको बताएका छन् ।

नेपाली सेनाले आयोजना गरेको एकिकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७ को समापन समारोहमा बोल्दै उनले सो कुरा बताएका छन् । उनले नेपाल एकीकरण गरेकोमा पृथ्वीनारायण शाह र बहादुर शाहको खुलेर प्रशंशा गरेका छन् ।

साथै उनले अभियान एकीकरण खटेर लड्ने महान् योद्धाहरु बीर अमरसिंह थापा, दामोदर पाँडे, कालु पाँडे, बलभद्र कुँवर, भीमसेन थापा लगायतको योगदानको उच्च मुल्यांकन गर्न जरुरी भएको पनि बताएका छन् ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसार इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्य सहित एकीकरण मार्ग कार्यक्रमकाे आयोजना गरिएको थियो ।

राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको कार्यक्रम अन्तर्गत गतवर्ष देखि नेपाल सरकारको नीति तथा कार्यक्रमको रुपमा निरन्तरता पाइरहेको छ ।

सेनाको इतिहास र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, सरोकारवाला मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत तथा व्यक्तिगत तवरबाट सक्रिय सहयोग प्राप्त हुनुले सबै सरोकारवालाहरुले यस कार्यक्रमको उत्साहजनक रुपमा अपनत्व लिएको पाइएको थियो ।

एकीकरण मार्ग कार्यक्रमबाट प्राप्त हुने प्रतिक्रियाहरु, सिर्जनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !