१२ श्रावण २०८१, शनिबार

नयाँ प्रधानमन्त्री फागुनको पहिलो हप्ता सम्ममा बन्ने


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय

१७ पुस, काठमाडौँ l प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन । अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ।

अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्नेछैन । निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ताको समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ ।सरकारको तयारी र निर्वाचन आयोगले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधामन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने सम्भावना छ । माघसम्म राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम तथा प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम र सदस्य छनोटले नै समय लिने देखिएको छ ।

राष्ट्रियसभा अध्यादेश जारी भएकै दिन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलअनुसार ढिलामा माघ मसान्तभित्र निर्वाचन हुने गरी मिति तय गर्ने समझदारी बनेको छ । निर्वाचन आयोगले यसबीचमा दल दर्ताको प्रक्रिया सकेर सरकारले तय गरेको मितिअनुसार निर्वाचनको आन्तरिक कार्यतालिका तयार पार्नेछ । प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगले माघ २५ भित्र मतदान प्रक्रिया सम्पन्न गर्ने गरी आन्तरिक कार्यतालिका प्रधानमन्त्रीलाई बुझाइसकेको छ । गत शुक्रबार आयोग पदाधिकारीसँगको भेटअनुसार सरकारले प्रक्रिया अघि बढाएमा ढिलामा पुस २० गतेभित्र राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय हुनेछ ।

आयोगले अहिले सरकारले निर्वाचन मिति घोषणा गरेको ४० दिनसम्म प्राविधिक तयारीको समय माग गर्दै आएको छ । तर, दलीय सहमति भएमा उक्त समयसीमा घटाउन सकिने आयोगको विश्वास छ । निर्वाचन आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले निर्वाचनको मिति घोषणापछि तयारीको प्राविधिक समय सहमतिमै तय हुने बताउनुभयो । घिमिरेले भन्नुभयो, “अहिले आयोगले ४० दिनको आकलन गर्दै आएको छ । तर, यसलाई घटाउन सकिन्छ भन्ने विश्वास छ । मिति तय भएपछि छलफल गरेर समय टुङ्गिन्छ । ”

राष्ट्रियसभा कहिलेसम्म ?
माघको तेस्रो साताभित्र राष्ट्रियसभा निर्वाचन सम्पन्न भएमा त्यसको परिणाम प्राप्त हुन बढीमा दुई दिनमात्र लाग्नेछ । निर्वाचक मण्डल सानो हुने भएकाले मतपरिणाम चाँडै आउनेछ । तर, राष्ट्रियसभाको परिणामपछि मात्र निर्वाचन आयोग प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने तयारीमा छ । उक्त मतपरिणाम सार्वजनिक भएपछि पनि दलहरूलाई समानुपातिक सांसद सिफारिस गर्ने समय दिनुपर्नेछ । यस्तै उक्त नामावली मिले नमिलेको आयोगले रुजुसमेत गर्नुपर्नेछ । रुजु गरी उम्मेदवारलाई विजयी घोषणा गर्ने अवधिसम्म एक साता लाग्नेछ । राष्ट्रियसभा निर्वाचन तथा प्रतिनिधिसभातर्फ समानुपातिकको सिट बाँडफाँट समेतमा माघ मसान्त सकिनेछ ।

यस्तो हुनेछ प्रक्रिया
संविधानको धारा ७६ (८) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम आएको ३५ दिनभित्र प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । बहुमत प्राप्त गर्न नसकेको अवस्थामा भने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

बहुमत नपुगी दुई वा सोभन्दा बढी दलको सहकार्यमा नियुक्त प्रधानमन्त्रीले त्यसरी प्रधानमन्त्री भएको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके प्रधानमन्त्री अल्पमतमा पर्नेछन् र राष्ट्रपतिबाट पुनः नयाँ प्रक्रिया सुरु हुनेछ ।
यसरी नियुक्त हुने प्रधानमन्त्रीले पनि नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन असफल भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको समेत अधिकार संविधानले दिएको छ । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति राष्ट्रपतिबाटै घोषणा हुन सक्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !