१५ असार २०८१, शनिबार

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै : राखेपको सदस्यसचिव नियुक्त हुनसक्ने


मन्त्रिपरिषद्

काठमाडौँ, साउन १२ । आज सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्ति गर्ने सम्भावना रहेको छ । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बोलाइएको छ ।

उक्त पदका लागि रमेश कुमार सिलवाल, अञ्जु श्रेष्ठ र लिलबहादुर थापा मगर गरी ३ जनाको नाम सिफारिस भइसकेको छ । उनीहरु राखेपको सदस्यसचिवका लागि दौडधुपमा रहेपनि १ जनालाई सरकारले सदस्यसचिवमा नियुक्त गर्नेछ ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले केही दिनअघि दरखास्त परेका २५ जनामध्ये सिलवाल, श्रेष्ठ र मगरलाई राखेपको सदस्यसचिवका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिस समितिले अनिवार्य रुपमा १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । नेपाल खेलकुद विकास ऐन लागु भइसकेपछि ऐनमा रहेको व्यवस्था बमोजिम नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

३ जनामध्ये सिलवाल निवर्तमान सदस्यसचिव हुन् । प्रधानमन्त्री केपी ओली निकट उनी फेरि पनि नियुक्त हुने सम्भावना बलियो छ । अन्जु श्रेष्ठ भलिबलकी पूर्व कप्तान हुन् भने अर्का लिलबहादुर थापा मगर भलिबलकै पूर्व उपाध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !