११ असार २०८१, मंगलबार

तालको संरक्षण, पर्यटन र कृषि विकास : कास्कीका उम्मेदवारको प्राथमिकता


election-kaski

कार्तिक २६, कास्की | सात तालको सौन्दर्यले पर्यटकीय आकर्षण केन्द्र बनेको कास्कीको निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा कसले बाजी मार्छ भन्ने कुरा यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ ।
नेपाली काँग्रेस र वाम गठबन्धनका बीच नै कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा काँग्रेसका कानून न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसहितका उम्मेदवार मतदातासँग भोट माग्दै जनताको घरदैलोमा पुग्नुभएको छ ।
गाउँ शहरका बस्तीमा मतदाता भेट्ने, चुनावी सभा र कार्यक्रम गर्ने तथा जनताका आकांक्षा बुझ्दै भोट माग्न उनीहरु व्यस्त छन् । पर्यटकीय मौसमको पारिलो घाममा तालतलैयाका छेउछाउ र पदमार्गमा विदेशी पर्यटक देखिए पनि निर्वाचन चिह्न, पार्टीका झण्डा र चुनावी नारासहित राजनीतिक दलका यत्रतत्र देखिने हुल र जुलुसले चुनावी चटारोलाई दर्शाउँछ ।
धान थन्क्याउने हतारोमा रहेका किसानका खेतमा हात जोड्दै पुग्ने उम्मेदवारका लागि मतदाताका विकासका एजेण्डा बुझेर फर्कनु यतिखेर दैनिकी नै भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि यस क्षेत्रमा कूल ३३ जना उम्मेदवार रहेको निर्वाचन अधिकृत जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।
तीन क्षेत्रसहित कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीको यस क्षेत्रमा ४४ हजार ६२० पुरुष, ५१ हजार ४६३ महिला र एकजना तेस्रोलिङ्गी गरी कूल ९६ हजार ८४ जना मतदाता छन् । जिल्लाका ३१७ मतदान केन्द्रमा मतदान गरिनेछ ।
विकासको पर्याप्त सम्भावना बोकेको यस क्षेत्रमा रुपा र मादी गाउँपालिका, पोखरा लेखनाथ महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् ।
यस क्षेत्रको प्रदेश ९क० मा रुपा गाउँपालिका र महानगरका २६, २७, २९, ३०, ३१ र ३२ नं वडा पर्छन् भने प्रदेश ९ख० मा मादी गाउँपालिका र महानगरपालिकाका १०, १२, १३, १४ र २८ नं वडा पर्छन् । यहाँका मादी र रुपा गाउँपालिका जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना बोकेर पनि अपेक्षित विकास नभएका क्षेत्र हुन् भने महानगरका वडा पनि विकास दृष्टिले अझै ओझेलमा छन् ।
पर्यटकलाई लोभ्याउने प्राकृतिकरुपमा सुन्दर सिक्लेस, ताङ्तिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होला सोंथर, दूधपोखरी यहाँका महत्वपूर्ण पर्यटकीय गन्तव्य हुन् ।
पदयात्रा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण मादीको सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङ्तिङदेखि सिक्लेससम्मका पदमार्ग पर्यटकलाई लोभ्याउन सक्ने स्थल हुन् । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको घपुचे हिमताल पनि यही पर्छ ।
निर्माणाधीन सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङ्तिङलगायतका सडकको स्तरोन्नति यहाँका टड्कारो आवश्यकता हुन् ।
दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी यहाँ पाइन्छन् । लेकाली भेगमा पाइने टुसा यहाँको आम्दानीको महत्वपूर्ण स्रोत बन्ने देखिन्छ । त्यस्तै रुपातालबाट जलविद्युत् निकाल्ने गरी सम्भाव्यता अध्ययन शुरु भइसकेको छ भने व्यावसायिक माछापालन पनि यहाँको आयआर्जनका लागि महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।
यहाँका चिसापानीको देवी मन्दिर, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थल हुन् ।
बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि पर्यटकीय गन्तव्य बनेको छ । तालबेँसी, खाल्डे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकास गर्न सकिन्छ ।
शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिंकरोड र बेगनास भोर्लेटार यहाँका मुख्य सडक मार्ग हुन् । यहाँका महानगरका वडा अधिकांश ग्रामीण भेगमा नै रहेकाले तिनको विकास गर्न आसन्न निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिका लागि मुख्य चुनौती छ ।
चुनावका लागि विभिन्न आश्वासन बाँड्दै उम्मेदवार घरदैलोमा आउने गरे पनि विकासमा जनतासँग हातेमालो र नेतृत्व गर्न सक्ने उम्मेदवारको पहिचान गर्ने बेला आएको लेखनाथ अर्घौंका मतदाता हरिशंकर भण्डारी बताउनुहुन्छ ।
“केवल भोटका लागि यो गर्छु, त्यो गर्छु मात्र होइन काम गर्ने विश्वासिला आधार उम्मेदवारले मतदातालाई दिनु आवश्यक छ,” उहाँले भन्नुभयो ।
लेखनाथका तालको संरक्षण र विकासका साथै सिसाघाट मादी करिडोर निर्माणलगायतका धेरै कुरा अघि बढिरहेका कारण यी कार्यलाई सम्पन्न गर्नु अपरिहार्य भएको काँग्रेसका कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं कानून मन्त्री यज्ञबहादुर थापा बताउनुहुन्छ । तालहरू जोड्ने लिङ्क रोड तयार भइसकेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका कामलाई पनि प्रक्रियागतरुपमा अघि बढाइसकिएको बताउनुभयो ।
यहाँ कृषि, पर्यटन, जलविद्युत् आदिका पर्याप्त सम्भावना रहेका कारण यिनैका माध्यमबाट यस क्षेत्रलाई समृद्धिको मार्गमा लैजान सकिने वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व मन्त्री खगराज अधिकारीले बताउनुभयो ।
तालतलैयाको संरक्षणका साथै पर्यटकको आगमनमा वृद्धि गराउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गराउन व्यावसायिक कृषिको विकासजस्ता कामलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।
यस क्षेत्रलाई समृद्ध बनाउन प्रकृतिप्रदत्त साधनस्रोतको अधिकतम उपयोग गर्न सकिने काँग्रेसका तर्फबाट यस क्षेत्रका प्रदेश ९ख० का उम्मेदवार कृष्ण केसीको धारणा छ । उहाँले भन्नुभयो, “लेकाली, पहाडी हुँदै समथर फाँटमा ठाउँ अनुकूलको व्यावसायिक कृषि विकासका धेरै सम्भावनालाई उजागर गर्न सकिन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !