काठमाडौं, असार २२। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका छौं । उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने ।
प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी/विदेशी शक्ति हावी भएको बताएका थिए । त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए ।
सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाइरहेका छन् । जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ। राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ ९० जना सुरक्षाकर्मी परिचालित छन् । विशेषगरी भीभीआईपीको सवारीमा ‘जेड प्लस’ प्रणालीमा सुरक्षाकर्मी खटिन्छन्। सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मीका हतियार स्वचालित छन् वा छैनन् भनेर जाँच गरिएको छ ।
सम्भावित चुनौती विश्लेषण गरी सुरक्षाकर्मीलाई उच्च सतर्क रहन निर्देशन दिइएको छ। प्रधानमन्त्री निवासमा खटिने सुरक्षाकर्मीलाई २४ सै घण्टा सतर्क रहन भनिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन् ।