७ मंसिर २०८१, शुक्रबार

पार्टी एकता बचाउन प्रधानमन्त्री ओलीको आग्रह


केपी शर्मा ओली

काठमाडौँ, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे प्रधानमन्त्रीले अवगत गराएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो ।

‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको राज्यमन्त्री रावतले बताउनुभयो । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो’’, प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै रावतले भन्नुभयो, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् । ’’

बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको सहमतिअनुसार आफू चल्ने बताउनुभएको रावतले जानकारी दिनुभयो । बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताउनुभयो । रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चार माध्यममा आएका समाचार विश्वसनीय नभएको जनाउनुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गर्नुभएको थियो । छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो । केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त हुनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !