१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओलीले बोलाए बालुवाटारमा मन्त्रिपरिषद् बैठक


मन्त्रिपरिषद्

काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ । आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुसँग बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा छलफलका लागि बोलाएका छन् । अध्यक्ष प्रचण्डसँग छलफलका लागि ओली निकटका नेताहरु सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदिप ज्ञवाली पुगेका छन् ।

हिजो बुधवार मात्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरू ललितपुरको झम्सिखेलको एक रेस्टुरेन्टमा भएको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई स्थायी समिति बैठकबाट राजीनामाका लागि निर्देशन दिने निर्णय गर्ने निष्कर्ष निकालेको थियो । साँझ ५ बजेबाट ८ बजेसम्म चलेको उक्त भेलामा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापासहित ३१ जना नेता सहभागी थिए ।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन् । बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !