काठमाडौं, असार ११ । नेपाल सरकारले छिमेकी मित्रराष्ट्र चीनसँग कुनै सीमा विवाद नरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो । भारतले लिम्पियाधुरा सहितको भू-भाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना गर्न खोजिएको छ ।
मन्त्रालयले सन् १९६१ मा नै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ । सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा फिर्ता ल्याउन संकल्प प्रस्ताव समेत दर्ता गराएको अवस्थामा परराष्ट्रले विज्ञप्ति जारी गरेको हो ।