काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसद्बाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वपूर्ण भएको जनाएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत नयाँ नक्सा पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको उल्लेख गर्नुभएको छ । “राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढङ्गले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढङ्गले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ” उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
काँग्रेसले उच्चस्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढङ्गले गर्न सरकारलाई आग्रह गरेको छ । जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ काँग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवम् सुस्पस्ट विचारका साथ दृढ ढङ्गले उभिँदै आएको र आगामी दिनमा पनि त्यसरी नै उभिने प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ ।