![साझाको बस चढेर राष्ट्रपति](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/01/Bidhyadevi-Bhandari-in-Sajha-Bus-1-scaled.jpg?fit=2560%2C1707&ssl=1)
पाटन । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुगेकी हुन् ।
हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेका थिए ।
पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किएकी छन् ।
तस्बिर : नवीन पाैडेल, रासस