कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो ।
कञ्चनपुरको वेदकोट-२ र ३ मा ९ अर्ब लागतमा ५ वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । प्रधानमन्त्री ओलीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ । यसअघि यो औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।
औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४ सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।
तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय