११ पुस २०८१, बिहीबार

कारोना संक्रमण दर दैनिक उकालो, नयाँ भेरियन्टले बढायो जोखिम


कोरोना भाइरस

काठमाडौं । एक साता अघिदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमण बढ्न थालेको हो । असारको तेस्रो साता आइपुग्दा कोरोना संक्रमण दर २ प्रतिशतले बढेको देखिएको छ ।

१२ असारमा २९ जना कोरोना संक्रमित थपिएका थिए । १३ असारमा ३ हजार ३ सय ५८ जनामा परीक्षण गर्दा संक्रमित हुनेको संख्या ४१ जना पुगेको थियो । त्यस्तै १४ असारमा ४४ जनाका संक्रमण देखिएको थियो भने १५ असारमा संक्रमित हुनेको संख्या ६२ पुग्यो । १६ असारमा ५५ जना, १७ असारमा २ हजार ८ सय १४ जनाको नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण देखियो । त्यस्तै १८ असारमा २ हजार ४ सय ६७ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको थियो । १९ असारमा ५३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, सोमबार २० असारमा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कसैको मृत्यु भएको छैन । हाल देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने चार जना संस्थागत आइसोलेसन र चार जना आईसीयूमा छन् । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । सोमबारसम्म आइपुग्दा सो दर २ प्रतिशत पुगेको छ । कुल जनसंख्याको झन्डै ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकेकाले जटिल संक्रमण, संक्रमणको विस्तार धेरै तीव्र नभएको र मृत्युदर न्यून रहेको छ ।

कोरोना संक्रमण बढेसँगै निकै संक्रामक मानिएको कोभिड–१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब–भेरिएन्ट पुष्टि भएको हो । कोरोना संक्रमण पुनः तीव्र विस्तारमा नयाँ भेरिएन्टको आशंका भइरहेका बेला ‘बीए.५’ देखिएको हो । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै चिकित्सकले मास्क र सेनिटाइजर प्रयोग गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिएका छन् ।

सन् २०२२ को फेब्रुअरी महिनामा दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोनको नयाँ भेरिएन्ट विस्तारै धेरै मुलुकमा फैलने क्रमले तीव्रता पाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभिड महामारी सम्बन्धित २९ जुनको सूचनाअनुसार क्षेत्रीयस्तरमा दक्षिणपूर्व एसियामा ३२ प्रतिशतले, पूर्वी भूमध्य क्षेत्रमा ४७ प्रतिशत, युरोपमा ३३ प्रतिशतले संक्रमण बढिरहेको छ । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !