काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने होकी भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारे र आफ्नो पक्षमा ल्याउन खोज्ने तत्व हाबी हुन सक्नेप्रति सचेत गराए ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोयाब)ले तयार गरेको निर्वाचन आचार संहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गरे । उनले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वाद्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गरे ।
असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिए । यो समाचार गोरखापत्र दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले लेखेका छन् ।