२ जेष्ठ २०८१, बुधबार

कांग्रेसमा उम्मेदवार छान्न सकस


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं ।  नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो ।

बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ । कांग्रेस विधानअनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था ।

विधानमा २५ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन् ।

यस्तै केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्यलाई राख्न सक्नेछन् । सभापतिले सदस्य प्रस्ताव गर्दा समावेशी सिद्धान्तअनुसार सिफारिस गर्नुपर्ने विधानमा उल्लेख छ । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई समेत संसदीय समिति सदस्यमा सिफारिस गरेका छन् ।

शुक्रबार, शनिबार र आइतबार दिनभर भएका प्रयासले सार्थक रूप नलिएपछि संसदीय बोर्ड बनाइएको हो । सत्तारूढ गठबन्धनमा भएको तालमेलअनुसार ६ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर कांग्रेसको भागमा परेको छ ।

चितवन, वीरगन्ज र पोखरामा उपमेयर कांग्रेसले पाएको छ । यसैगरी, ११ उपमहानगरपालिकाको भागबन्डा गर्दा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज, धनगढी गरी सात उपमहानगरको मेयर पद पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा गरी तीन उपमहानगरको उपमेयर कांग्रेसको भागमा परेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !