९ असार २०८१, आइतबार

गठबन्धनमा गडबडीको संकेत, कांग्रेसका ५० जना पूर्ववडाध्यक्ष र सभापतिद्वारा राजीनामा


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फाइल फोटो

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर साझा उम्मेदवारी दिने सैद्धान्तिक सहमति गरेका पाँच दलीय गठबन्धनभित्र असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा सत्तारूढ दलकै उम्मेदवारबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

सिट बाँडफाँड गर्न नसकेको सत्ता गठबन्धनले नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको तालमेलसम्बन्धी सिट बाँडफाँट गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले समन्वय गरी ५ वैशाखभित्र केन्द्रलाई पठाउन भनेको छ ।

तर, जिल्ला जिल्लामा गठबन्धनभित्र रहेका दलबीच असन्तुष्टि बढ्दै गइरहेको छ । असन्तुष्टि बढ्दै जाँदा एक दलका नेताले अर्को दलका नेतालाई स्वीकार गर्न सकेका छैनन् । आफ्नो पालिकामा एकले अर्कोलाई सहयोग नगर्ने अडान लिँदै गठबन्धनभित्रका नेताले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

चितवनमा गठबन्धन दलबीच चर्को विवाद रहेको छ । भरतपुर महानगरमा माओवादीका उम्मेदवारलाई मेयरमा स्वीकार गर्न नसकिने भन्दै कांग्रेस स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रेका छन् । भरतपुरका ५० जना कांग्रेसका पूर्ववडाध्यक्ष, पार्टीका पूर्ववडा सभापतिले शनिबार राजीनामा दिएका छन् ।

भरतपुर महानगर माओवादीलाई दिने आन्तरिक सहमति गठबन्धनभित्र भएपछि कांग्रेसका ५० भन्दा बढीले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेका छन् । स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको क्रियाशील र साधारण सदस्यको भेलामा उनीहरूले स्वतन्त्र रहेको घोषणा गरेका हुन् ।

यस्तै, वीरगन्ज महानगरपालिमा कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । कांग्रेस पर्सा जिल्ला कमिटीले वीरगंजसहित पर्साको अन्य पालिकामा समेत कांग्रेस एक्लै चुनाव गर्ने उद्घोष गरेको छ । वीरगन्जमा गत निर्वाचनमा जसपाले मेयर जितेको थियो । तर, जसपाबाट मेयर जितेका विजय सरावागी एमालेमा प्रवेश गरिसकेका छन् । वीरगन्ज महानगरसहित पर्साको पालिकामा सत्तारूढ गठबन्धनभित्रै प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

उता कलैया उपमहानगरपालिकामा गत निर्वाचनमा कांग्रेसले मेयर जितेको थियो । तर, माओवादी, एकीकृत समाजवादी र जसपाले तीन दलीय गठबन्धन गर्दै कांग्रेससँग गठबन्धन नगर्ने घोषणा गरेका छन् । तीन दलबाट साझा उम्मेदवारी दिएर कांग्रेस उम्मेदवारसँग नै प्रतिपस्र्धा गर्ने घोषणा स्थानीय नेताले गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !