१२ असार २०८१, बुधबार

डा. शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ


डा. शशांक कोइराला फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत निर्वाचनमा गरेको खर्चको यथार्थसहित सात दिनभित्र जवाफ पेश गर्न उनीलाई ध्यानाकर्षण गराइएको बताए ।

उनले निर्वाचन खर्चसम्बन्धी विवरणमा डा. कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए। ‘विभिन्न सञ्चार माध्यममार्फत नेता कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रूपैयाँ खर्च भएको भन्ने आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘त्यस विषयमा के कसो भएको हो। सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ ।’

नेता डा. कोइरालाले शनिबार एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले विसं.२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ६ करोड रूपैयाँ खर्च गरेको अभिव्यक्ति दिएका थिए। नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेका कार्यक्रममा उनले भनेका थिए, ‘मैले नवलपरासीबाट तीनपटक जितें। पहिलो निर्वाचनमा मेरो खर्च ८० हजार रूपैयाँ थियो। दोस्रो निर्वाचनमा तीन करोड रूपैयाँ र गत निर्वाचनमा ६ करोड रूपैयाँ खर्च भएको थियो। निर्वाचन किन यति महँगो भएको हो?’

प्रवक्ता पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आयोगले उम्मेदवारलाई २५ लाख रूपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो। त्यसबेला आयोगमा नेता डा. कोइरालाले २१ लाख ७५ हजार रूपैयाँ खर्च भएको विवरण पेश गरेका थिए।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई स्पष्टीकरण सोधेको छ। आयोगका प्रवक्ता पौडेलले तीन दिनभित्र जवाफ पेश गर्न नेकपा उसलाई निर्देशन दिएको जानकारी गराए।

शनिबार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी )ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेको थियो। ‘नेकपा (एकीकृत समाजवादी)ले चैत २६ गते भृकुटीमण्डपमा आयोजित आमसभा निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आमसञ्चार र सामाजिक सञ्जालमार्फत आएका थिए,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबारे प्रमाणसहित चित्त बुझ्दो जवाफ दिन निर्देशन दिइएको छ।’ सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल नेपालले गर्ने जानकारी उनले दिएका थिए।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २८ जिल्लामा आवश्यक पर्ने ४५ लाख २२ हजार निर्वाचन मतपत्र छपाइको कार्य सम्पन्न भएको जानकारी उनले दिएका थिए। आयोगले चैत २१ गतेदेखि निर्वाचनको लागि एक करोड ९४ थान मतपत्र छपाइ सुरुगरेको थियो ।

यसपटक कुल मतपत्रमध्ये आठदेखि २५ प्रतिशतसम्म थप मतपत्र छपाइ हुनेछ। स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुनेछन्। आयोगले निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिसकेको छ।

आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रूपमा जानकारी दिन आगामी वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने भएको छ। सबै निर्वाचन अधिकृतले पाउने गरी एकएक प्रति मतदाता नामावली पठाउने कार्य भइसकेको जानकारी पौडेलले दिए।

‘मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत् सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ,’ उनले भने । आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेका छन् । यो समाचार नागरिक दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा स्मृति ढुंगानाले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !