१३ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा सरकारद्वारा पहिलो फ्लाई ओभरकोे तयारी


पहिलो फ्लाई ओभर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलो फ्लाई ओभरको निर्माणका लागि डिजाइनको काम सुरु गरेको छ ।

काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा पहिलोपटक फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको ढाँचा (डिजाइन) तयारको काम सुरु भएको हो ।

सरकारको सो फ्लाई ओभरको चाँडो निर्माणको काम अघि बढाउने तयारी छ । आगामी दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण कार्य अघि बढाउने योजनामा सरकार रहेको पाइएको छ । १९ फागुनमा डिजाइन सुरु भएकोमा आगामी १६ असारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्नेछ ।

सरकार आफैंले ईपीसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एन्ड कन्सट्रक्सन)सँग सम्झौता गरेर उपत्यकामा पहिलो फ्लाई ओभर निर्माण गर्न लागेकोे हो ।

सरकारले ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने तयारी गरेसँगै त्यस ठाउँमा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण विषयका रूपमा आएको छ । महानगरीय ट्राफिक महाशाखाले ग्वार्को चोक यातायातको उच्च चाप हुने स्थान भएकाले समस्या उत्पन्न हुन सक्ने जनाउँछ । फ्लाई ओभरको जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प भने खोज्नुपर्ने देखिएको छ ।

त्यसो त फ्लाई ओभर निर्माण सम्पन्न भएपछि ग्वार्को चोकमा ट्राफिक व्यवस्थापनको संरचनामासमेत परिवर्तन हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने फ्लाई ओभरमाथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।

काठमाडौं उपत्यकामा हाल कलंकी चोकमा अन्डरपासमार्फत सवारीसाधन चल्ने गरेका छन् । चक्रपथमा चल्ने सवारीसाधन अन्डरपासमार्फत पास हुने गरेका छन् भने कालिमाटीबाट नागढुंगा र नागढुंगाबाट अन्यत्र जाने सवारीसाधन पुलमाथिबाट आवतजावत गर्ने गरेका छन् ।

चीन सरकारले पहिलो खण्डको सडक विस्तार गर्दा खसीबजारबाट कलंकीसम्म अन्डरपास निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अन्डरपास’ हो ।

हाल काठमाडौं उपत्यकाको जाम कम गर्ने उद्देश्यसहित ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्न लागिएको सरकारी पक्षले जनाएको छ । जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग आयोजनाअन्तर्गत पनि एउटा फ्लाई ओभर निर्माण भइरहेको छ । सो आयोजनामा एउटा ओभर पास र तीनवटा अन्डर पास निर्माण हुनेछन् ।

सरकारले कोटेश्वर चोक, बानेश्वर चोकलगायत अन्य स्थानमा पनि फ्लाई ओभर निर्माणका लागि दातृ निकायहरूसँग छलफल गर्दै आएको छ ।

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा ट्राफिक जाम बढेर जान थालेपछि फ्लाई ओभर, अन्डरपास तथा सुरुङमार्गको विकल्पमा सरकारले जोड दिन थालेको हो । यो समाचार राजधानी दैनिकवाट साभार गरिएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !