७ असार २०८१, शुक्रबार

साउदीमा एक वर्षमा २२४ जना नेपाली श्रमिकले ज्यान गुमाए


साउदी अरब

काठमाडौं । साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् ।

सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।

दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ ।

विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप भइरहेको छ ।

अदालतमा दायर तथा सुनुवाइ भएका मध्ये ३७ मुद्दाको फैसला भएको छ । २४ वटा मुद्दाको फैसलाबाट साउदी रियाल १३ लाख ८६ हजार ५०० ब्लडमनीसमेत प्राप्त भई मृतक श्रमिक हकवालाको नाममा पठाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !