काठमाडौं । एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ । यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरे । यससँगै शीर्ष नेतृत्वबीच जुन संवादहीनता थियो, त्यो एक हदसम्म तोडिएको छ । यो भेटमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहे ।
‘एमसीसीलाई चाँडै एउटा निष्कर्षमा पु¥याउने विषयमा सकारात्मक छलफल भएको छ’, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘एमसीसीको अहिले जुन भ्रम र आशंका छ यो अब छिट्टै हट्छ । एमसीसीले केही दिनमै निकास पाउँछ ।’ राष्ट्रिय राजनीति सकारात्मक दिसामा गएको मन्त्री कार्कीले बताए । संसद्लाई प्रभावकारी बनाउन सरकार र प्रतिपक्षको उत्तिकै जिम्मेवारी छ भन्ने छलफल भएको उनले सुनाए ।
एमाले महासचिव शंकर पोख्रेलले प्रधानमन्त्रीले एमसीसीलगायत विषयलाई अघि बढाउन सहयोग मागेको जानकारी दिए । तर, माओवादी अध्यक्ष दाहालले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने, निर्वाचनपछि मात्र एमसीसीको विषय प्रतिपक्षसहित उठाउन सहज हुने बताएको महासचिव पोख्रेलले सुनाए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।