१२ असार २०८१, बुधबार

नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा बतास समूहको अनुसन्धान


नारायणहिटी दरबार संग्रहालय

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ ।

सङग्रहालयको जग्गा भाडामा लगाउनुका कारण, औचित्य र आवश्यकता तथा प्रक्रियासम्बन्धी भएका निर्णयसहितका कागजपत्र उपलब्ध गराउन भनेका छौँ, संयोजक लुइँटेलले भने ।

सो समितिले आवश्यक कागजपत्र उपलब्ध गराउन सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई शुक्रबार नै निर्देशन दिएको थियो ।

समितिका अनुसार जग्गा भाडामा लगाउने विषयसँग सम्बन्धित कागजपत्र बुझ्ने काम भइरहेको छ । थप अध्ययनपछि प्रतिवेदन तयार पारी दोषी देखिएमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार हुनेछ ।

सो प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइने छ । यसैबीच भारत सरकारको सहयोगमा निर्मित ‘नेपाल–भारत मैत्री धर्मशाला’मा होटल सञ्चालनका लागि भाडामा लगाउने विषयमा गठित छानबिन समितिले शनिबारबाट नै अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । बतास समूहले होटल आनन्द सञ्चालन गरिरहेको धर्मशाला भाडामा लगाइएको कानुनी प्रक्रिया र नीतिगत निर्णयका सम्बन्धमा अनुसन्धान गर्ने जनाइएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !