१५ असार २०८१, शनिबार

नारायणहिटी दरबारको लमजुङ कक्ष जोगियो, बगैँचा मासियो


नारायणहिटी दरबार संग्रहालय

काठमाडौं । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो ।

सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महत्त्वपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्छन्, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाइ बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”

नेपालको मौलिक कला शैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उनी सम्झन्छन् ।

यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गरे । दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

२०७७ को सुरुतिर सङ्ग्रहालयभित्र कफिसप चलाउनु पर्‍यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म लविङ भएको देखिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !