काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो।
बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो।
२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो। सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो।
सोअनुसार अन्य तीन कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा दिइएको थियो भने निजामती कर्मचारी संगठनलाई १४ आना जग्गा उपलब्ध गराएको थियो। सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए।
भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपाललको भवनको उद्घाटन गरेका थिए। संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।