२२ भाद्र २०८१, शनिबार

चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै


चिनी

काठमाडौं । यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ ।

सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका लागि चिनीको मौज्दात नहुँदा व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाउन सक्ने यसको मूल्य नियन्त्रणबाहिर जाने देखिएको छ ।

यतिबेला साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २ सय टन चिनी छ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनीको मौज्दात शून्य छ ।

व्यापारीहरूले यही मौका छोप्दै मनपरी रूपमा चिनीको मूल्य तोक्न सक्ने सरोकारवालाहरूले बताएका छन् । सरकारी कम्पनीसँग मात्र होइन, चिनी उत्पादक संघसँग पर्याप्त मात्रामा चिनी मौज्दात छैन । संघसँग यतिबेला करीब ६ हजार टन मात्र चिनी मौज्दात रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले कर्पोरेशन र खाद्य कम्पनीसँग चिनी नभएको मौका छोप्दै दशैंमा व्यापारीहरूले प्रतिकिलो चिनीको मूल्य १ सय १० रुपैयाँसम्म तोक्न सक्ने अनुमान रहेको बताए ।

उनका अनुसार सरकारले सरकारी कम्पनीलाई चिनी खरीदको अनुमति नदिँदा व्यापारीहरूलाई चिनीको मूल्यमा मनपरी गर्न सजिलो भएको छ । सरकारी कम्पनीले बजार मूल्यलाई हस्तक्षेप गरी बजार अनियन्त्रित हुनबाट बचाउँछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !