काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन्। यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरत्सिंह भण्डारीले भने।
‘आजकै दिनमा टीकापुर घटना भएको थियो। सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन्।
यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने।
‘यो विषय अहिले अदालतको प्रक्रियामा छ। अदालतको निर्णय हेरांै। त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ अरगरैयाले भने।
भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्। जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।