काठमाडौँ । निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने अवस्थामा रहेको सत्तारूढ दल कांग्रेसमा चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विवाद सुरु भएको छ । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने तर्क गरेपछि विवाद चर्किएको छ ।
देउवा पक्षका नेताहरूले स्थानीय र प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले त्यसको प्रतिवाद गरेका छन् । महाधिवेशन चुनावपछि सार्ने संस्थापन पक्षको भनाइको वरिष्ठ नेता पौडेलले नै प्रतिवाद गरे ।
एक केन्द्रीय सदस्यका अनुसार पौडेलले संस्थापन पक्षको महाधिवेशन नगर्ने नियत बुझिन थालेको बताए । पार्टी विधानअनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ । संविधान र पार्टी विधानअनुसार भदौ १९ भित्र महाधिवेशन गरिसक्नुपर्छ, जुन अब असम्भवप्रायः छ ।
केन्द्रीय सदस्यहरू अर्जुन जोशी, फरमुल्लाह मन्सुर, अजय चौरसिया लगायतले महाधिवेशनले पार्टीमा आन्तरिक खाडल बढाउने र यसबाट प्रतिनिधिसभा निर्वाचनलाई असर गर्ने बताएपछि पौडेल पक्षले यसको प्रतिवाद गरेको हो । पौडेलपक्षीय केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यता विवाद समाधान नगरी विभिन्न बहानामा आलटाल गरेर महाधिवेशन सार्न खोजिएको बताए ।
केन्द्रीय सदस्य बलबहादुर केसीले केही केन्द्रीय सदस्यले आमनिर्वाचनपछि महाधिवेशन गर्दा राम्रो हुने भनाइ राखेको जानकारी दिए । देउवानिकट केन्द्रीय सदस्यहरूले राखेको प्रस्तावलाई पौडेल पक्षले महाधिवेशन नगराउने भित्री आशय प्रकट भएको बुझेका छन् । एक केन्द्रीय सदस्यले भने, ‘संस्थापन पक्षले महाधिवेशन गराउने–गराउने भनेर आफूले अपजस लिन नखोजेको मात्र हो ।’
केन्द्रीय सदस्य शेखर कोइरालाले विशेष महाधिवेशन बोलाउने वा कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूलाई मान्य नहुने बताए । सभापतिको उम्मेदवार घोषणा गरेका कोइरालाले क्रियाशील सदस्यताको विवाद नमिलाई महाधिवेशन गर्न नसकिने बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।