१२ असार २०८१, बुधबार

पार्टी एकताको लागि नरम बन्दै माधव नेपाल


माधव नेपाल फाइल फोटो

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूले उठाएको प्रतिनिधिसभा पुनस्र्थापनालगायत महत्त्वपूर्ण राष्ट्रिय अजेन्डा स्थापित गर्न सफलता हासिल गरे पनि पार्टीको आन्तरिक विवादलाई भने जित्न सकेका छैनन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका उनी विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् ।

पार्टीको आन्तरिक विवाद निरुपण गर्न आफूनिकट नेताहरुसँग निरन्तर छलफल चलाइरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षसँग परोक्ष रुपमा संवाद प्रक्रिया पनि अघि बढाएका छन् । तर, अझै मिलनबिन्दु भेटिएको छैन ।

पार्टी विवाद मत्थर नभएसम्म संघर्ष गर्नुको विकल्प पनि उनीसँग छैन । नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएका छन् ।

ओली पक्षले केन्द्रीय कमिटीको बैठक रोक्न अस्वीकार गरिरहेका बेला वरिष्ठ नेता नेपालले पार्टी एकताको विषय आफ्नो एक्लो प्रयासले मात्रै सम्भव नहुने अभिव्यक्तिसमेत दिएका छन्।

शनिबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो चाहना पार्टी विभाजन होस् भन्ने नरहेको तर आफूले मात्रै सो प्रयास गरेर सम्भव नहुने देखिएको बताएका हुन्। आफू पक्षका केन्द्रीय सदस्यहरूले पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्नेमा जोड दिइरहेका बेला नेपालको यो अभिव्यक्तिले उनी नरम बन्दै गएको संकेत गर्छ।

नेपालनिकट केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार अधिकांश नेताहरूको मत आत्मसम्मानसहितको एकता आफूहरूले चाहेको रह्यो। नेता नेपालले आफू निकै लचकदार भएको पनि बताउँदै आएका छन्। उनले अहिलेको विधानअनुरूप ७० वर्षे प्रावधानलाई कार्यान्वयन गर्ने र सबै नेताल दोस्रो पुस्तालाई पार्टी हस्तान्तरण गर्ने विषयमा आफू तयार रहेको बताउन थालेका छन्। समाचार आजको नागरिक दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !