१३ आश्विन २०८१, आइतबार

यसकारण उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने


राष्ट्रपति भण्डारीले ढुंगेधारामा पानी खसालेर गरिन् मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

काठमाडौं । काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ÷छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !