१६ असार २०८१, आइतबार

अन्तत: फुट्यो जसपा


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

जनता समाजवादी पार्टी (जसपा) विवाद झन् बढ्दै गएपछि चिरा पर्ने सँघारमा पुगेको छ । दुई अध्यक्ष रहेको जसपामा एकअर्कोलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने होडबाजी नै चलेको छ । अध्यक्ष महन्थ ठाकुरले मंगलबार अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । ठाकुरले यादवलाई कारबाही गर्नुअघि यादवले मंगलबार नै चार नेतालाई कारबाही गरेको पत्र सार्वजनिक गरेका छन् ।

यादवले ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्यद्वय लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई पार्टी साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका छन् । यादवनिकट नेता प्रकाश अधिकारीले पार्टी हितविपरीत कार्य गरेकाले विधानअनुसार अनुशासनको कारबाही गरिएको बताए ।

एकअर्कालाई कारबाही गर्दै दुवै समूहले त्यसबारे निर्वाचन आयोगलाई जानकारीसमेत गराएका छन् । यसअघि, दुवै समूहले एकअर्कालाई स्पष्टीकारण सोधेका थिए ।

पछिल्लो समय सरकारमा सहभागी हुने विषयलाई लिएर पनि पार्टीभित्र विवाद बढ्दै गएको छ । सरकार निर्माण विषयमा जसपाभित्र विवाद चर्किंदै गएपछि शीर्षनेता दुई धु्रवमा विभाजित भएका छन् । ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । तर, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र यादव समूह विपक्षी गठबन्धन बनाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजिरहेका छन् ।

पार्टी विवाद चर्किंदै गएपछि एकअर्कालाई सोधिएको स्पष्टीकरणको जवाफ कसैले दिएनन् । सरकारमा सहभागी हुने विषयमा शीर्ष नेताको मत विभाजित रहेको छ । सोही कारण दुवै समूह आआफ्नो रणनीतिअनुसार अगाडि बढेपछि एकअर्कोलाई स्पष्टीकरण सोध्नेक्रम पनि सुरु भयो ।

पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा ठाकुर र महतो समूह छ । पार्टी निर्णयविपरीत देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गरेकोलगायत आरोप ठाकुर समूहले लगाउँदै आएको छ । यो समाचार राजधानी दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !