९ असार २०८१, आइतबार

५ महिनापछि ओली-नेपाल वीच यतिसम्म भयो घनिभूत छलफल

ओलीले भने, 'गुटगत गतिविधि नगरी पार्टीमा फर्कनुस्' : नेपालले भने, 'पार्टी एकताका लागि पहल गर्नुस्'


केपी ओली र माधव नेपाल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल पार्टीमा अनेकन उच्छालकुदपछि बुधबार संवादमा जुटेका हुन् ।

ओली र नेपाल पक्षीय नेताहरूबीच गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो लागेका थिए । कात्तिकमा भएको भेटमा नेकपा फुटको डिलमा रहेको भन्दै पार्टी जोगाउन नेपालसँग ओलीले आग्रह गरेका थिए ।

काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् ।

‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’

उनीहरू दुई घण्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ छ । ओलीलाई भेटेर फर्किएपछि निकटस्थहरूसँग नेपालले ओलीको भनाइमा आफूलाई कुनै विश्वास नभएको बताएका छन् । ओलीले पनि बालुवाटारमा आफूले नेपाललाई गुटको गतिविधि नगरी पार्टीमा फर्किन आग्रह गरेको ब्रिफिङ गरेका छन् ।

ओली र नेपाल छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागे पनि दुवै समूहका केही नेता एमाले कुनै हालतमा फुटाउन नहुने पक्षमा थिए । तिनै नेताहरूबीच भएका बारम्बारका संवादले ओली र नेपालबीचको भेट सम्भव भएको हो । ओलीसित भेट्न जानुअघि नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक भएको थियो जसले पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !