काठमाडौं । रिपोर्टर्स क्लबले चैत १७ गते काठमाडौंको राष्ट्रिय सभामा गरको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए भने विशेष अतिथि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर । ओली जसै कार्यक्रम उद्घाटनका लागि पानसमा बत्ती बाल्न अघि बढे, ठाकुर ताली बजाउन छेउमा उभिए । लगत्तै ठाकुरको हात तानेर ओलीले पानसमा बत्ती बाल्न लगाए, उनको हातमाथि आफ्नो हात राखे ।
२०६२/६३ को जनआन्दोलनयता फरक दुईधारको नेतृत्व गर्दै आएका ओली र ठाकुरको हात जसरी मिल्यो , पछिल्लो कालमा मन पनि उसै गरी मिलिरहेको छ । संघीयता र गणतन्त्रको मुद्दालाई प्रमुखतासाथ बोकेका ठाकुर र कुनै समय मधेसका मुद्दामा अत्यन्तै अनुदार भनिएका ओलीको मन मिल्नुको कारण के होला ? ठाकुर भन्छन्, ‘पुराना कुरा इतिहास भए, अहिले परिस्थिति बदलियो ।’
प्रतिनिधिसभाको बैठकमा सोमबार केहीबेर सहभागी भएर उनी बबरमहलस्थित सम्पर्क कार्यालयमा पुग्दा सरकारसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्ला वार्ताबारे ब्रिफिङ गर्न पर्खिरहेका थिए । शुक्लाको ब्रिफिङले उनी केही आशावादी रहेछन् ।
गत वैशाख ८ मा प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि वैशाख १० मा एकीकृत भएर जनता समाजवादी पार्टीको एउटै छाताभित्र रहेका दुई शक्ति अहिले परस्पर विरोधी धारमा उभिएका छन् । ओलीप्रति हमेसा खरो आलोचक रहँदै आएको ठाकुर समूह अहिले उनैसँग बाक्लो हिमचिम गरिरहेको छ । विश्लेषक सीके लाल मालिकहरूको झगडामा जसले जित्ने हो, त्यसको पछि लाग्दा नै फाइदा हुन्छ भन्ने बुझेरै ठाकुर समूह ओलीनजिक भएको हुन सक्ने बताउँछन् । ‘सत्ता भनेको एउटा सरकार हो, एउटा प्रतिपक्षी हो । कांग्रेसको भूमिका हेर्ने हो भने अहिले प्रतिपक्षी त छै न । जब दुइटै एउटै हुन् भने दुइटामा जोसँग सरकार को लगाम छ, त्यहीसँग नजिक हुन सहज भयो नि त,’ लालले भने, ‘जहाँसम्म माओवादीको कुरा छ, उसले त मधेसको मुद्दालाई ठूलो धोका दिएको छ ।’
२०४८–२०५६ सम्मका तीनवटा चुनावमा सर्लाहीबाट लगातार जितिरहेका ठाकुर नेपाली कांग्रेसमा आदर्श र नैतिकवान् नेतामध्येमा अग्रपंक्तिमै थिए, तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र पनि । २०६२/६३ को जनआन्दोलनका बेला नेपाली कांग्रेसका कोषाध्यक्ष रहँदा लोकतन्त्र पुनर्बहालीका लागि उनले खेलेको भूमिकाबारे चर्चा भइरहँदा अहिले कुम जोड्न खोजिरहेका प्रधानमन्त्री ओलीले आन्दोलनमा देखाएको उदासीनताबारे पनि उत्तिकै परिचर्चा हुँदै आएको छ । तर, जनआन्दोलनको भावनाअनुसार अन्तरिम संविधान बनेन भन्ने लागेपछि उनले आफ्नो राजनीतिको बाटो परिवर्तन गरे । त्यतिखेर विज्ञान तथा प्रविधिमन्त्री रहेका ठाकुरले २०६४ को मंसिरमा सरकारी गाडीमा झन्डा हल्लाउँदै ललितपुरको समिट होटल पुगेर सरकार र कांग्रेस छोडेको घोषणा एकैपटक गरेका थिए । त्यसपछि तमलोपाका अध्यक्ष ठाकुर मधेसको राजनीतिमा केन्द्रित भए, सत्ता र शक्तिको छायाबाट टाढा ।
राजेन्द्र महतोको सद्भावना र उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमले संयुक्त मधेसी मोर्चाको नाममा मधेसमा आन्दोलन सुरु गरिसकेको थियो । २०६४ को माघ ६ मा ठाकुर पनि जोडिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा घोषणा भयो । त्यही वर्षको फागुन १ देखि अनिश्चितकालीन मधेस आन्दोलन सुरु भयो । त्यो आन्दोलन १६ दिनसम्म चल्यो । १६ औं दिनमा काठमाडौंका सत्ता साझेदार गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहालले मधेसमा आन्दोलन चलाइरहेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोसँग ८ बँॅुदे समझदारी गरे । उक्त समझदारीपछि मात्रै मुलुकमा संविधानसभा चुनावको माहोल बन्यो, चैतमा चुनाव भयो तर चुनावका बेला आन्दोलनमा सँगै रहेका दलहरू सँगै भएनन् । सर्लाही ६ बाट उम्मेदवार बनेका ठाकुर फोरमका शिवपुजन रायसँग पराजित भए । यो उनको पहिलो हार थियो ।
तमलोपामा महन्थ ठाकुरलाई अध्यक्ष मान्न नसकेपछि त्यतिखेर कांग्रेस नछोडेका विजयकुमार गच्छदार, जयप्रकाशप्रसाद गुप्तालगायत नेताहरू फोरममा जोडिए । त्यसैले त्यो चुनावमा फोरम मधेसबाट पहिलो बनेर आयो । यदि त्यो समूह तमलोपामा गएको भए तमलोपा मधेसबाट पहिलो दल भएर आउँथ्यो । ठाकुरलाई सरकारले मन्त्रिपरिषद्बाट मनोनयन गरेर संविधानसभामा ल्यायो । यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।