काठमाडौं, जेठ २२ । चक्रवात ‘निसर्ग’ को प्रभाव नेपालमा पनि देखिने भएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातको नाम उल्लेख नगरी जारी गरेको सूचनामा दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको उल्लेख छ ।
आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना रहेको र त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात जेठ २२ देखि २४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनअघि बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन ।
नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ । नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन् ।