९ मंसिर २०८१, आइतबार

निःशुल्क भोजन बन्द : श्रमिक वर्ग मर्कामा


काठमाडौँ, २ जेठ । बन्दाबन्दी जारी रहँदा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएका निःशुल्क भोजनस्थल बन्द गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई समस्या पर्न थालेको छ ।

पशुपति क्षेत्रको सुमार्गी भवन, खुलामञ्च, स्थानीय तहका केन्द्रलगायत विभिन्न स्थानमा निःशुल्क स्थानीय सरकारको समन्वयमा विभिन्न सङ्घसंस्थाले श्रमिक एवं विपन्न वर्गलाई भोजन गराउँदै आएका थिए । सुमार्गी भवनको भोजनस्थल बिहीबार बन्द गरिएपछि पशुपति क्षेत्रका सयौँ मानिस खान नपाइएको गुनासो गर्न थालेको बाल सारथी संस्थाकी अध्यक्ष माला खरेलले जानकारी दिनुभयो ।

निःशुल्क भोजनस्थलमा धेरै मानिस जम्मा हुन थालेपछि प्रशासनले नै बन्द गरी वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको थियो । पशुपति क्षेत्रमा निःशुल्क भोजन गर्नेलाई बाल सारथीले राहत वितरण गर्न थालेको उहाँले बताउनुभयो । प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर र उहाँकी श्रीमती विमला मानन्धरको सहयोगमा श्रमिक एवं विपन्न वर्गका मानिसलाई राहत दिइएको हो । अन्य सङ्घसंस्था एवं दाताले दिएको सहयोग वडा कार्यालयको समन्वयमा वितरण गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।

हालसम्म एक हजार श्रमिक, विपन्न एवं पशुपति क्षेत्रमा दाताको आशमा बस्नेलाई बाल सारथीले राहत वितरण गरेको छ । उपत्यकाका अन्य स्थानमा भने वैशाख २६ गतेदेखि नै निःशुल्क भोजन बन्द गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाका नौ वटै वडामा सञ्चालन गरिएको निःशुल्क भोजन बन्द भएपछि श्रमिक, विपन्न वर्गलाई के गर्ने भन्ने विषयमा छलफल चलाएको छ ।

नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना रोजगारसहितको राहत दिने विषयमा गृहकार्य गरिरहेका बेला उपत्यका बाहिरबाट भित्रनेका कारण कोरोनाको सङ्क्रमण फैलिएपछि असहज भएको बताउनुहुन्छ । निःशुल्क भोजन गराउनुअघि राहत वितरण गर्ने क्रममा श्रमिक हो होइन भन्ने छुट्याउन गाह्रो भएको स्थानीय तहको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !