१२ असार २०८१, बुधबार

पाँचथरमा लकडाउन उल्लङ्घन बढ्दो


ट्राफिक प्रहरी

फिदिम, २३ वैशाख । पाँचथरमा सर्वसाधारणबाट लकडाउनको प्रभावकारी कार्यान्वयनमा असहयोग भएको छ । सर्वसाधारणकै हितका लागि कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन जारी गरिएको भए पनि यहाँ सर्वसाधारणबाट लकडाउन उल्लङ्घन गर्ने क्रम बढ्दो छ । बजारी तथा ग्रामीण इलाकामा बढेको लकडाउन उल्लङ्घनले सङ्क्रणको जोखिम बढाएको छ । कोरोना भाइरस सङ्क्रमणको लामो समयपछि समेत कोभिड–१९ का लक्षणहरु देखिने हुँदा लकडाउन उल्लङ्घनले समस्या निम्तन सक्ने भन्दै प्रशासनले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सघाउ पु¥याउन जिल्लावासीलाई अपिल गर्दै आएको छ ।

जिल्लाको सदरमुकाम फिदिममै अत्यावश्यकबाहेकका बजार पसलसमेत खोल्ने, अनावश्यक भीडभाड गर्ने तथा सवारी साधन सञ्चालन गर्ने क्रम बढेको छ । सदरमुकाममा अत्यावश्यकबाहेकका शृङ्गार, लत्ताकपडा, निर्माण सामग्रीलगायत पसलसमेत आंशिकरूपमा खुल्न थालेका छन् । प्रहरीले कडाइ गरेको समयमा यस्ता पसल बन्द गर्ने र प्रहरीको आँखा छलेर खोल्ने क्रम बढ्दो छ । प्रहरीले दैनिकरूपमा गस्ती गर्नुका साथै सर्वसाधारण तथा व्यवसायीलाई समेत तुल्याउँदै आएको भए पनि लकडाउन कार्यान्वयनमा सर्वसाधारणबाट सहयोग भएको छैन ।

यहाँका सानादेखि ठूलासम्म किराना पसल विगतबाटै आंशिकरूपमा खुल्दै आएकामा पछिल्लोपटक अन्य पसलसमेत खुल्न थालेका हुन् । यहाँ धेरै किराना पसल तथा स–साना होटल एकै स्थानबाट सञ्चालित छन् । जसकारण धेरै मानिस भेला हुने तथा भीडभाड हुने गरेको छ । सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्रलगायतले लकडाउनको प्रभावकारी कार्यान्वयनमा सहयोग गरी कोभिड–१९ को सङ्क्रमणबाट बच्न सहयोग गर्न सर्वसाधारणलाई नियमितजसो अपिल गर्दै आएका छन् ।

यस्तै यहाँका ग्रामीण सडकमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्ने क्रमसमेत बढिरहेको छ । प्रहरीको आँखा छलेर अत्यावश्यक काम नहुनेले समेत सवारी साधन सञ्चालन तथा प्रयोग गरिरहेका छन् । यस्तै खाद्यान्नलगायत अत्यावश्यकीय काममा खटिएका सवारीका साधनले समेत यात्रु बोक्ने गर्नाले सङ्क्रमणको जोखिम बढेको हो । प्रहरीले दैनिकजसो अत्यावश्यक काममा बाहेक सञ्चालित सवारी साधन नियन्त्रणमा लिने गरेको छ । तर, जनप्रतिनिधि तथा अन्य पहुँचवालाको दबाबमा नियन्त्रणमा लिइएका सवारी साधन एक÷दुई दिनमै छाड्ने क्रमले सवारी साधन सञ्चालन निर्वाधजस्तै बनेको छ ।

लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सुरक्षा निकायले मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र अन्य मुख्य सडकहरुमा नियमित गस्ती तथा अनुगमन गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो । यस क्रममा सवारीका कारण राजमार्ग क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भन्दै सुरक्षा निकायले सचेत तुल्याउन थालेका छन् ।

यद्यपि यहाँ निसङ्क्रमण, सचेतना तथा सतर्कता, लकडाउनको प्रभावकारी कार्यान्वयन, अत्यावश्यक सवारी साधन सञ्चालनमा रोक लगाउने कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिका देखिएको छैन । अत्यावश्यक क्षेत्रका लामो दूरीका सवारीका साधनमा निसङ्क्रमण गरिएको छैन । सडक तथा बजारी क्षेत्रमा सचेतना र सतर्कताका लागि प्रभावकारी काम भएको छैन । निसङ्क्रमण तथा सचेतना अभावले राजमार्ग क्षेत्रमा सङ्क्रमणको त्रास कायम रहेको छ । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले स्थानीय तहहरुलाई कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सबै शक्ति प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !