भद्रपुर, १८ वैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई आज रु २५ हजार जरिवाना गरेको छ ।
चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।
उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि आज समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताउनुभयो ।
समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा रु ३६ हजार जरिवाना गरेको थियो ।
सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताउनुभयो ।
समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।