२ जेष्ठ २०८१, बुधबार

भूकम्पको पाँच वर्षमा छ हजार निजी आवास पुनर्निर्माण


घर पुनःनिर्माण

लमजुङ, १२ वैशाख । गोरखा भूकम्प गएको पाँच वर्षका अवधिमा करीब ६ हजार निजी आवास पुनःनिर्माण भएका छन् । जिल्लामा रहेका कुल लाभग्राही १३ हजार ७६४ मध्ये ६ हजार १७१ भूकम्पपीडितको घर पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राििधकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) का जिल्ला सम्पर्क व्यक्ति विनय दवाडीले जानकारी दिनुभयो ।

जिल्लामा लाभग्राही पहिचान भएका कुल संख्यामध्ये ५५२ जना जोखिमवर्गमा समावेश गरिएको प्राधिकरण एकाइ लमजुङका निमित्त प्रमुख जगदीश मिश्रले बताउनुभयो ।

प्रबलीकरणतर्फ मात्रै ६६३ लाभग्राही पहिचान भएकामा सम्झौता सम्पन्न ३२०, पहिलो किस्ता लिने लाभग्राही ३०६ र अन्तिम किस्ता लिने एक जना रहेको उहाँको भनाइ छ ।

वन्य तस्करी रोक्न गस्ती
कोरोना भाइरस संक्रमणका बेला सरकारले लागू गरेको लकडाउनका बेला हुन सक्ने वनपैदावार र वन्यजन्तुको तस्करी रोक्न गस्ती शुरु गरिएको छ । जिल्ला डिभिजन वन कार्यालयको मातहतमा रहेका ६ वटै सब डिभिजन वन कार्यालयमार्फत जनशक्ति परिचालन गरी वनपैदावारको अवैध निकासी तथा वन्यजन्तुको चोरीशिकारी र तस्करी रोक्नका लागि गस्ती एवं अनुगमन शुरु गरिएको कार्यालय प्रमुख मोहन काफ्लेले बताउनुभयो ।

जिल्लामा ८५ हजार हेक्टर क्षेत्रफल वनजंगलमध्ये ६६ हजार हेक्टर वन कार्यालयको कार्यक्षेत्रमा पर्छ । यीमध्ये कार्यालयले ३३९ सामुदायिक वन अर्थात् २२ हजार हेक्टर क्षेत्रफल वन विभिन्न समुदायलाई हस्तान्तरण गरिसकेको छ ।

कार्यालयका अनुसार जिल्ल्लाका राइनास, रम्घा, भोर्लेटार र सुन्दरबजार क्षेत्रमा काठ तस्करी हुन सक्ने सम्भावना बढी छ । त्यस्तै दूधपोखरी क्षेत्रमा वन्यजन्तुको शिकार तथा तस्करी हुने सक्ने सम्भावना छ । साथै लकडाउनका बेला विभिन्न वनजंगल क्षेत्रमा आगो लगाउन सक्ने भएकाले गस्ती तथा अनुगमन तीव्र बनाइएको कार्यालय प्रमुख काफ्लेले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !