१० मंसिर २०८१, सोमबार

झापाका स्थानीय सरकारलाई राजनीतिक दलको साथ


jhapa-district

बनियानी, ५ वैशाख । कोभिड–१९ को संक्रमणविरुद्धको अभियानमा झापाका स्थानीय सरकारलाई यहाँका राजनीतिक दलहरुले साथ दिइरहेका छन् । जिल्लामा क्रियाशील ठूला–साना सबै राजनीतिक दलले स्थानीय सरकारलाई कोरोनाविरुद्धको अभियानमा रणनीतिक योजना बनाउनेदेखि विपन्न परिवारलाई राहत वितरणसम्म सहयोग गरिरहेका हुन् । झापामा मुख्यतः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी क्रियाशील छन् भने अन्य साना दलहरु पनि सक्रिय छन् । कोरोनाविरुद्ध अभियानमा यहाँका दलले नगद, खाद्यान्न, जनचेतना अभिबृद्धिका लागि सूचना प्रवाह गरिरहेका पाइएको छ ।

नेकपा झापा अध्यक्ष चिन्तन पाठकले लकडाउन अगावै झापामा कोरोना भाइरसविरुद्धको सचेतनामूलक दुई लाख प्रति पर्चा छापेर बाँडेको बताउनुभयो । “जिल्लाका अधिकांश स्थानमा जनचेतनामूलक पर्चा घरघरमा बाँडियो”, उहाँले भन्नुभयो, “लकडाउनका कारण केही स्थानबाहेक सबैतिर पुगेको छ ।” एफएम रेडियोमार्फत् पनि सूचना प्रवाह गरिरहेको उहाँले बताउनुभयो । नेकपा झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कारोना विपद् व्यवस्थापन कोषमा रू एक लाख सहयोग गरिसकेको छ । त्यस्तै, स्थानीय तह अन्तरगतको कमिटीले मेचीनगर, बिर्तामोड, झापा गाउँपालिका, हल्दिबारी, कचनकवल, दमक र गौरादहको कोरोना कोषमा नगद र जिन्सी (चामल) सहयोग गरिसकेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । “राहत वितरणको अवधारणा एकद्वार प्रणालीबाट गरिने भएकाले राहत संकलन गरेर स्थानीय तहको कोषमा जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “एक साताभित्र जिल्लाका १५ वटै स्थानीय तहमा सक्दो सहयोग हुन्छ ।” स्थानीयतहअनुसार राहत वितरणमा एकरुपता नभएकाले त्यसमा एकरुपता ल्याउने र आधारभूत वर्गका नागरिकलाई राहत दिने कुरामा पार्टी लागि परेको उहाँले बताउनुभयो ।

“संकटको वर्तमान अवस्थामा आफू सचेत भएर बस्ने र अरुलाई पनि बचाउने बेला भएको बताउनुहुन्छ”, नेपाली कांग्रेस झापा सभापति उद्धव थापा । स्थानीय तह अन्तरगतको समितिमार्फत् राहत संकलन गरेर स्थानीय तहलाई दिने काम भइरहेको उहाँले बताउनुभयो । “संकटका बेलामा राहत वितरणमा विवाद र पारदर्शी नभएको भन्ने कुरा आइरहेको छ”, उहाँले भन्नुभयो, “यो पार्टी, त्यो पार्टी नभनी नागरिकले राहत पाउनु पर्छ ।” उहाँले झापाका सबै राजनीतिक दलले अहिले कारोना विरुद्धको अभियानमा स्थानीय सरकारलाई सक्दो सहयोग गरिरहेको उहाँले बताउनुभयो । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन पार्टीगत रुपमा सल्लाह–सुझाव दिइरहेको उहाँले उल्लेख गर्नुभयो । कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम उपाय नै लकडाउन भएकाले सबैलाई लकडाउनको पूर्णपालना गर्न÷गराउन नागरिकको दैनिक अत्यावश्यक वस्तुको व्यवस्थापन जरुरी रहेको थापाको कथन छ । कांग्रेस नगर समितिले पनि सम्बन्धित स्थानीय तहलाई आर्थिक, जिन्सी सहयोग गरिरहेका छन् । मेचीनगर, बिर्तामोड, बुद्धशान्ति, झापा गाउँपालिका, शिवसताक्षी, भद्रपुरलगायत स्थानीय तहमा सहयोग गरिसकेको र गर्नेक्रम जारी रहेको पार्टीले जनाएको छ ।

कोरोना विरुद्धको अभियानमा पार्टीको पूर्णरुपमा साथ र समर्थन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका उपाध्यक्ष कमल खरेल बताउनुहुन्छ । “संकटका बेलामा कुनै दल वा व्यक्ति भन्नु हुँदैन”, उहाँले भन्नुभयो, “यो अभियान हामी सबैको साझा हो, यसमा सबैको साथ र समर्थन उत्तिकै छ ।” स्थानीय सरकारलाई सकेको आर्थिक एवम् नीतिगत सुझाव दिएर सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

झापाका स्थानीय तहको कोरोना कोरोना कोषमा रू ५ करोड ९६ लाख जम्मा भइसकेको छ । हालसम्म जिल्लाका ३९ हजार ३७१ घरधुरीका १ लाख ६० हजार ४१३ जनालाई राहत वितरण गरिएको छ । झापामा झापाका १५ वटा स्थानीय तहले ७५१ जना क्षमताको २७ वटा क्वारेन्टाइन बनाएका छन् । हाल उक्त क्वारेन्टाइनमा १७५ जना रहेका छन् । त्यस्तै, जिल्लाभर होम क्वारेन्टाइनमा १ हजार ४१ जना रहेका छन् । क्वारेन्टाइन अवधि पूरा गरेका १८२ जना घर फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !