१६ असार २०८१, आइतबार

आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने दाहालको घोषणा


भदौं २३, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् ।प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गरेका हुन् । ‘मैले देशभरको चुनावी अनुभव बटुलेको छु, अब आफ्नै जिल्लाबाट चुनाव लड्ने घोषणा गर्दछु,’ अध्यक्ष दाहालले भने ।

उनले चितवनको भूमिकालाई राष्ट्रिय राजनीतिको अग्रस्थानमा पु¥याउन पनि आफू चितवन आउन लागेको बताए । ‘भौगोलिक रुपमा केन्द्र बनेको चितवनलाई अब राजनीतिक भुमिकालाई अग्रस्थानमा लैजान म आउन लागेको हुँ, यसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोड दिन सक्छ,’ उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि पहिले रोल्पा, काठमाडौं र मधेसबाट चुनाव लडेँ । त्यहाँका जनताले मलाई मतदान गरेर विजयी पनि गराए । उनीहरूकै मतले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर मिल्यो, अब देशलाई आर्थिक समृद्धितिर लैजानु छ । त्यसको नेतृत्व अब चितवनबाट हुन्छ ।’

अध्यक्ष दाहालले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै यहाँका जनताले आफ्नो भुमिका र पार्टीको योगदान बुझ्नेमा विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले आफूले कुन क्षेत्रबाट लड्ने भन्नेबारे नखुलाए पनि क्षेत्र नं.३ बाट लड्ने तयारी रहेको बताइएको छ । दाहालले अब देशमा तिव्र गतिमा आर्थिक विकास हुनु जरुरी रहेको भन्दै यसको नेतृत्व नै माओवादीले गर्ने बताए । उनले यसैका लागि आफ्नै गृहजिल्ला आएको बताए ।

दाहालले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र संभावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनु पर्ने बताए । उनले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा मधेसी जनताले माओवादीलाई भोट हाल्ने दावी गरे । पछिल्लो आफ्नो दश महिने सरकारले गरेको क्रियाकलाप र क्षेत्रीय पार्टीबाट नभई राष्ट्रिय पार्टीबाट मात्रै हकअधिकार स्थापित हुने कुरा मधेसी जनताले बुझेको भन्दै माओवादीप्रति मधेसी जनता आकर्षित भएको बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !