७ मंसिर २०८१, शुक्रबार

विकटमा लकडाउनबारे सचेतना बाँड्दै जनप्रतिनिधि


लकडाउन

घोराही, २० चैत । ग्रामीण जनजीवनको मेलापातमा दैनिकी बिताउने र सञ्चार सुविधाबाट बञ्चितहरुलाई सरकारले जारी गरेको लकडाउनबारे पर्याप्त थाहा नहुन सक्छ । लकडाउनमा जथाभावी हिँड्ने र भेटघाट गर्ने क्रम नरोकिएपछि दाङको बङ्गलाचुली गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सचेतना बाँड्न शुरु गरेका छन् ।

जिल्लाको विकट क्षेत्र मानिने बङ्गलाचुलीका कतिपय स्थानमा त अहिले पनि मोटरबाटो पुगेको छैन । त्यस्ता स्थानमा सर्वसाधारणलाई जनचेतना जगाउन जनप्रतिनिधि आफँै काँधमा स्पिकर बोकेर गाउँगाउँ हिँडने गरेका छन् ।

अरु बेला वडा कार्यालयको काममा व्यस्त वडा नं ६ का वडाध्यक्ष वेदुलाल घर्ती हिजोआज बिहान उठ्ने बित्तिकै काँधमा स्पिकर बोकेर कोरोनाबारे गाउँभरि माइकिङ गर्दै हिँड्नुहुन्छ । मोटरसाइकल चल्ने केही बाटोमा मोटरसाइकल चढेर पुग्नु हुन्छ भने नपुग्ने ठाउँमा आफैँ काँधमा स्पिकर बोकेर पैदलै हिँडेर माइकिङ गर्नुहुन्छ ।

माइकिङबाट जनतालाई एकैठाउँमा जम्मा नहुन, साबुनपानीले हात धुन, एकअर्कासँग भेटघाट नगर्न अनुरोध गर्दै उहाँ यो एक साताको अवधिमा वडाको सबै गाउँमा पुगिसक्नुभएको छ । “अहिले बिहानदेखि साँझसम्म माइकिङको काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “शुरुमा जनतालाई सम्झाउन अलि गाह्रो भयो, अहिले त्यस्तो छैन सबैले कोरोनाबाट बच्नुपर्छ भन्ने बुझ्न थालिसकेका छन् ।” गाउँघरमा अहिले लकडाउनको पालना भएको उहाँले सुनाउनुभयो ।

उहाँजस्तै वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा पनि कोरोनाबाट बच्नका लागि जनतालाई सचेतना फैलाउने काममा दिनरात खटिनुभएको छ । वडाध्यक्ष विश्वकर्मा भन्नुहुन्छ, “हाम्रो वडाको आधा भागमा सञ्चारको पहुँच छ आधामा छैन । त्यसकारण जनतालाई कोरोनाबाट बचाउनका लागि यसरी काँधमा स्पिकर बोकेर सचेतना बाँडिरहेका छौँ ।”

बङ्गलाचुली गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष कुनै न कुनै तवरले कोरोना भाइरसबाट बच्नका लागि सबैलाई सचेत बनाउँदै हिँड्नुभएको छ । गाउँपालिको वडा नं ५ ले त सबैभन्दा पहिला कोरोना भाइसबाट बच्न सचेतनाका विभिन्न गतिविधि गर्दै आएको छ । लकडाउन शुरु भएदेखि अहिलेसम्म निरन्तर कोरोनाबाट बच्नका लागि विभिन्न तवरबाट जनचेतना फैलाउने काम भएको वडाध्यक्ष एनुराज खत्रीले बताउनुभयो । गाउँपालिकाको वडा नं ७ र ८ ले पनि कोरोनाबाट बच्नका लागि प्रत्येक दिन जनतालाई सचेत पार्ने काम गरिरहेको वडा नं ८ का अध्यक्ष गीरराज बाँठाले जानकारी दिनुभयो ।

बङ्गलुचली गाउँपालिकाका स्वस्थ्यकर्मीले पनि हरेक ठाउँमा जनतालाई सचेत पार्ने काम गर्दै जनताको सेवा गरेका छन् । गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थाका साथै गाउँपालिकाले स्थापना गरेको क्वारेनटाइनबाट समेत जनतालाई कोरोना भाइरसबारेमा सचेत बनाउने काम भएको छ । बङ्गलाचुली गाउँपालिकामा भारत तथा तेस्रो मुलुकबाट गरेर एक हजार ४०० बढी स्थानीय गाउँ फर्केका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !