३१ भाद्र २०८१, सोमबार

सदरमुकाममा खानेपानी अभाव


Water supply

खलङ्गा, २९ फागुन । जुम्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ । खानेपानी अभावले हरेक हप्ताको दुई दिन बढी मानिस खानेपानी खोज्न मुहानदेखि खोला र धारामा समेत जाने गर्छन् ।

जनसङ्ख्या बढ्ने तर खानेपानीको मात्रा घट्दै जाने भएकाले समस्या बढ्दै गएको हो । विसं २०५६ मा स्थापना भएको खलङ्गा खानेपानीले अहिले सदरमुकाममा आपूर्ति गर्दै आए पनि पानी कम आउने गर्छ । हप्ताको एक–दुई दिन पानी ठप्पै हुँने समस्याले उपभोक्तालाई हैरान पार्दै आएको छ । एकातिर खानेपानीकै अभाव छ भने अर्को सरसफाइलाई पनि पर्याप्त पानी नहुँदा समस्या परेको छ ।

सदरमुकाममा अहिले एक हजार चार सय ८२ घरधुरी खानेपानीका ग्राहक छन् । खानेपानीको माग बढ्दै गएकाले अभाव भएको खलङ्गा खानेपानी कार्यालय जुम्लाका कर्मचारी अर्जुन बरालले बताउनुभयो । बरालले विगतको संरचनाअनुसार बनाइएको खानेपानीको मात्रा अहिले नपुगेकाले अब थप खानेपानीको मुहान पहिचान गरी योजना अगाडि बढाउने काम भइरहेको जानकारी दिनुभयो । खानेपानी कार्यालयका अनुसार हाल सदरमुकामका लागि करीब चार लाख लिटर रिजर्भ ट्याङ्की रहेको तर बढ्दो जनसङ्ख्यासँगै खानेपानीको माग बढ्दो छ ।

अहिले पातारासी गाउँपालिकाको बातागाउँमा मुहान खरिद गरी पानी ल्याएको, प्रदेश सरकारको रु ३० लाख सहयोग तथा अन्य सानोतिनो सहयोगले दुई लाख लिटर खानेपानी सङ्कलन हुने काम भइरहेको बरालले बताउनुभयो । दश हजार लिटरको रु एक सयका दरले उपभोक्ताले पानी पाइरहेको तर पनि कोही घर र कार्यालयमा रु पाँच सयभन्दा पनि बढी बिल आउने गरेको कार्यालयले जनाएको छ ।

पानी अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई एकजना स्थानीयवासीले मुहान दान गर्नुभएको छ । चन्दननाथ नगरपालिका–३ निवासी पदम खत्रीले मुहान दान गरेपछि अहिले प्रतिष्ठानलाई पर्याप्त खानेपानी भएको छ । प्रमुख प्रशासकीय अधिकृत दन्दबहादुर शाहीका अनुसार बजारको पानीले अभाव भएपछि खोलिकोट निवासी खत्रीले आफ्नो जग्गामा भएको मुहान दिएर सहयोग गर्नुभएको बताउनुभयो ।

जुम्ला सदरमुकाममा खानेपानीको अभाव भएपछि नेपाल सरकारले बृहत् खानेपानी आयोजनाको तयारी गरेको छ । यहाँको धौलीघाट पाटनमा रहेको खानेपानीका लागि सङ्घीय सरकारले दुई अर्ब २५ करोड बजेट विनियोजन गरेको सङ्घीय खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख महेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार असार अगावै टेन्डर गरिने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !