१२ आश्विन २०८१, शनिबार

रोल्पामा जन्मिएका ६ महिला चिकित्सक सम्मानित


surgery-doctor-hospital

रोल्पा, २५ फागुन । रोल्पामा जन्मिएर चिकित्सा विज्ञान अध्ययन गरेका छ महिलालाई आज रोल्पामा सम्मान गरिएको छ । एक सय १०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा लिवाङमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुने चिकित्सकमा सुनिल स्मृति गाउँपालिका–४ का दिलस्मा घर्ती मगर, जीतकुमारी घर्ती मगर, जानकी घर्ती मगर, त्रिवेणी गाउँपालिका–२ का धनमाया घर्ती, रोल्पा नगरपालिका–७ का सविना घर्ती मगर र थवाङ गाउँपालिका–२ का सहनशीला बुढामगर रहनुभएको छ ।

सत्प्रयास समूहले आयोजना गरेको ‘जाँगर, शिक्षा र सम्मान’ विषयक कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनमाया घर्तीले चिकित्सा विज्ञान पढ्दाको अनुभूति राख्नु भएको थियो । परिवारको सहयोगले आफू रोल्पामा जन्मेर पनि चिकित्सक बन्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य दीपेन्द्र पुनले सम्मानित हुने महिला चिकित्सकले पछिल्लो पुस्तालाई पनि उत्प्रेरित गरिरहेको बताउनुभयो । रोल्पाबाट आधा दर्जन महिला चिकित्सक तयार हुनु सुखद रहे पनि सन्तोषजनक नभएको उहाँको भनाइ थियो । आगामी दिनमा जिल्लाले चिकित्सक उत्पादनमा विशेष पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !