रमेश केसी, बझाङ, २१ माघ । सदरमुकामभन्दा अलि तल देउरा बजार आउँछ । देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ । त्यस छाप्राको बाहिरतिर सधैँजसो एक ६५/६६ वर्षीय मानिस दिउँसोतिर घाममै पल्टिनुहुन्छ । घर परिवारबाहेक कसैले चासो नदेखाएको उहाँले बोलेको नबुझिने भएको रहेछ ।
उहाँ ओलकबहादुर राई हुनुहुन्छ । उहाँले भन्नुभयो, “म चार वर्षदेखि पाक्षाघातको बिरामी छु । उठ्न सक्दिन ।” उहाँकी श्रीमतीले निर्मलाले पुख्यौँली घर रामेछाप भए पनि सडकको काम गर्दागर्दै बझाङ आएको ४० वर्ष जति हुँदा पनि त्यही टहरामुनि बसेको बताउनुभयो । राईलाई बिरामीले च्यापेको पनि चार वर्ष भइसक्यो ।
ओलकले भन्नुभयो, “छान्ना सडकखण्डमा काम गर्दा राति सुतेको बेला पिसाब फेर्न जाँदा सिँढीबाट लडँे त्यति बेला राति धामीझाँक्री कहाँ गयौं, ठीक भएन र पछिल्लो दिन बुटवल अस्पतालमा गयौं, पैसा धेरै खर्च भयो । ठीक भएन, पहिला एउटा खुट्टामा मात्र देखा परेको थियो अहिले त पूरै शरीर नचल्ने भएको छ । न उठ्न हुन्छ, न त हिँड्न ।” उहाँ मात्र हैन पक्षाघातबाट उहाँकी छोरीसमेत पीडित हुनुहुन्छ ।
निर्मलाका अनुसार जुम्ल्याहा शिशु जन्मिँदा एउटा तुहिएको र एउटाकोे खुट्टा नचल्ने भएको छ । छोरी लक्ष्मीको बाल्यकालदेखि नै खुट्टामा सङ्क्रमण भएको र अहिले १४ वर्ष हुँदासम्म पैसाको अभावले बाबु ओलक र छोरी लक्ष्मीको उपचारमा समस्या भएको निर्मलाले बताउनुभयो । “पैसा भए पो उपचार गर्नू, पैसा नै छैन । परिवार ठूलो भयो । नागरिकता पनि कसैको छैन । गृह जिल्ला रामेछापमा एक वर्ष अगाडि नागरिकता बनाउन गयौँ । आजभोलि काम हुँदैन भनेर जिल्ला प्रशासन कार्यालय रामेछापबाट घर फर्काएपछि हामी गएका पनि छैनाँै । रामेछापमा घरजग्गा छ । घर जान र परिवार पाल्नलाई खर्च छैन, घर जाने त मन थियो नि । ”
राई दम्पतीका छोराछोरी विद्यालय पनि जाँदैनन् । “ पैसा भए पो स्कूल जानू ?”, ओलकले गहभरि आँशु पार्दै भन्नुभयो, “ आफू पनि कहीँ उपचार पाए केही दिन बाँच्छु कि लागेको थियो । अब त चार वर्ष भइसक्यो, काललाई पर्खिएजस्तो भएको छ ।”
आफूले पैसा नभएर उपचार नपाए पनि उहाँलाई कलिलै उमेरमा छोरीको पनि उपचार हुँदा मर्छे कि भन्ने चिन्ता लाग्छ । ओलक आफू बिरामी भएको भन्दा पनि बढी छोरी बिरामी भएकामा चिन्तित हुुनुहुन्छ । ओलककी श्रीमतीले भन्नुभयो, “स्थानीय जडीबुटी ल्याएर खुट्टा तथा शरीरमा सेकसाक गर्छु ।” त्यही जडीबुटीको समेत तिर्नलाई पैसा छैन । उहाँका एक छोरी र दुई छोरा छन् । जेठो छोरा मजदूरी गर्न अन्य जिल्ला गएका छन् । निर्मला भन्नुहुन्छ, “कान्छो छोराले गरेको मजदूरीको पैसाले हामी पालिएका छौं । नेपालको संविधानमा स्वास्थ्योपचारको हकको व्यवस्था भए पनि हामी जस्ता असहाय र गरीबले उपचार खर्च नपाएर अकालमै मर्नुपर्ने अवस्था कतिञ्जेल रहने हो ?”